Loading...

मनोरञ्जन क्षेत्रमा किशोरीहरु । थाहा भयो भने बेइज्जत हुन्छ

दोलखाकी १६ वर्षीया रिंकी थापा (नाम परिवर्तित) अहिले ११ कक्षामा पढदै छिन्। तर, उनले काम गर्न थालेको ८ पढदादेखि हो। गाउँबाट परिवारसँगै राजधानी छिरे पनि आफूभन्दा साना ३ बहिनी पाल्नु उनकी आमा एक्लैका लागि असम्भव थियो। अनि आफ्नो उमेर नहेरी काम गर्न थालिन्।

‘सुरुमा मासिक १५ सय रुपैयाँमा होटलमा भाँडा माझ्ने, टेबल पुछनेजस्ता काम गर्थें,’ उनले सुनाइन्, ‘अहिले डान्स बारमा काम गर्छु। टिप्स र तलबसहित १२/१३ हजार आउँछ। त्यसले परिवार र पढाइ दुवै चल्दै छ।’ उनले बहिनीहरूलाई राम्रो शिक्षा दिलाउनुका साथै आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी छिन्।

enatertainment-beautyमनोरञ्जन क्षेत्र अर्थात् होटल, क्याबिन रेस्टुरेन्ट, डान्स बार, मसाज पार्लरजस्ता क्षेत्रमा किशोरकिशोरी काम गरिरहेका भेटिन्छन्। त्यस्तैमध्येकी एक हुन् सोलुखुम्बुकी १६ वर्षीया रश्मिला खडका (नाम परिवर्तित) । उनकी आमा तरकारी बेच्ने गर्थिन्। आमालाई पत्थरी भएपछि घर चलाउन पैसा कमाउनैपर्ने बाध्यता आयो। पहिलोपटक वेटरका रूपमा होटलमा काम गर्न जाँदा उनी १३ वर्षकी मात्र थिइन्।त्यस समयमा उनले सातै दिन रातभर वेट्रेसका रूपमा काम गर्दा ४ हजार तलब पाउँथिन्। ‘डान्स पनि गर्‍यो भने झन् बढी पैसा पाइन्छ भनेपछि दुवै काम गर्ने गरेकी छु,’ खडकाले भनिन्, ‘अहिले दुवै काम गरेपछि मासिक १० हजार जति आउँछ।’

बेलुका ५/६ बजेपछि बिहानको ३ बजेसम्म काम गर्नुपर्छ । विद्यालय पढदासम्म त १० बजेदेखि स्कुल जानुपर्ने हुँदा खासै कठिनाइ नहुने उनीहरू बताउँछन्। तर, क्याम्पस पढ्न थालेपछि बिहानै जानुपर्ने हुँदा उनीहरूलाई काम र पढाइ दुवै गर्न गाह्रो भइरहेको छ। ‘बिहान कलेज जाँदा सुत्न नपाएर आँखा सुन्निरहेको हुन्छ। साथीहरूले सोधे अर्कै कारण बताइदिन्छु। कलेजमा कसैलाई थाहा भयो भने बेइज्जत हुन्छ,’ थापा भन्छिन्।

संविधानको मौलिक हकमा कुनै बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ। श्रम ऐन २०४८ र बालश्रम निषेध र नियमन गर्ने ऐन २०५६ अनुसार १६ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाइने र लगाए पनि ६ घण्टाभन्दा बढी लगाउन नपाइने भनिएको छ। कानुनी प्रावधान भए पनि गरिबीका कारण बालबालिका र किशोरकिशोरी अझै श्रम गरिरहेका छन्।

समाजले रात्रिकालीन पेसालाई अमर्यादित ठानेकैले यस क्षेत्रमा काम गर्ने महिलापुरूष कसैले समाजमा खुलेर पेसामाथि गर्व गर्ने स्थिति छैन । यस क्षेत्रमा कार्यरतले यौन दुव्र्यवहारका घटनासमेत बाल्यकालमै सामना गर्नुपर्ने हुन्छ।

‘धनी ग्राहक हुन्छन्। रक्सी खाएपछि आफूलाई पनि जबरजस्ती सँगै खाउ भन्ने, जथाभावी बोल्ने, हात लाउने, वस्तुभाउ जस्तो व्यवहार गर्न थाल्छन्,’ खडकाको अनुभव छ।

कतिपयलाई त साहुले नै यौनकर्ममा संलग्न गराउने बताउँछिन् जोरपाटीस्थित क्याबिन रेस्टुरेन्टमा कार्यरत एक किशोरी । अहिले यस क्षेत्रमा पढेलेखेका आउन थालेका छन् । अहिले पनि किशोरीको संख्या धेरै रहेको महिलाका लागि महिला मञ्चकी अध्यक्ष सिर्जना पुनले बताइन् । ‘सहजै काम पाइन्छ । कम उमेर, सुन्दर, हँसिली भए पुग्यो,’ मकवानपुरकी सरिता लामाले भनिन्, ‘दक्षता हेरिन्न । त्यसैले सीप नसिकेका र सामान्य लेखपढ गर्न जान्ने यो पेसामा सजिलै आउँछन्।’

पहिले नुवाकोट, धादिङ, सिन्धुपाल्चोकलगायत राजधानीवरपरका महिला यस पेसामा बढी भेटिए पनि भूकम्पपछि गोरखाका युवतीको संख्या बढेको विश्वास नेपालकी तारा भण्डारी बताउँछिन्। यस क्षेत्रमा किशोरको आर्थिक शोषण तुलनात्मक रूपले बढी हुन्छ। १६ वर्षको उमेरदेखि दोहोरीमा नाच्ने तनहुँका असीम गुरुङको अनुभवमा यो क्षेत्रमा लागेका पुरूषले महिलाभन्दा कम पैसा पाउँछन् । ‘केटामान्छे अलराउन्डर हुनुपर्छ,’ उनले थपे, ‘ओभरटाइम गरे पनि पैसा कम पाइन्छ ।’ श्रमजीवी महिलाप्रति डान्सबार, रेस्टुरेन्टमा हुने यौन उत्पीडन नियन्त्रण गर्न सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा यस किसिमका व्यवसाय जिल्लास्तरीय अनुगमन एवं कारबाही समितिअन्तर्गत रहने उल्लेख छ। प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिमा प्रहरी र महिला विकास कार्यालय वा स्थानीय विकास अधिकारी सदस्य रहने व्यवस्था छ। यस क्षेत्रमा कुनै दुव्र्यवहार भए समितिमा उजुरी दिन सकिन्छ। तर, समितिमा उजुरी पर्दैन।

‘उजुरी नपरे पनि अनुगमन नियमित भइरहेको छ,’ महिला विकास अधिकृत अनीता अधिकारीले भनिन्, ‘काम गर्नेमा बालिका र किशोरी भेटिए पनि तत्काल उद्धार गर्न सम्भव हुँदैन।’ क्याबिन रेस्टुरेन्ट, होटल, डान्सबार, मसाज पार्लरजस्ता व्यवसाय कुनै घरेलु कार्यालयमा त कुनै नगरपालिकामा दर्ता भएका छन्।

अधिकांश त दर्तै नगरी सञ्चालन भएका छन्। राज्यसँग यस्ता व्यवसायको संख्या, कार्यरत कर्मचारी, श्रममा संलग्न बालबालिका वा किशोरी केहीको पनि यकिन तथ्यांक छैन । जसले गर्दा यस क्षेत्रलाई व्यवस्थित गर्न कठिन हुने सरोकारवालाहरू बताउँछन्। अनुगमनका क्रममा बालबालिका भेटिए पनि उद्धार गर्न नसकिएको एसपी प्रद्युम्न कार्कीले बताए। ‘यस क्षेत्रमा रहरले कोही बालबालिका गएका हुँदैनन्, उनीहरूलाई विकल्प नदिई कामबाट निकाल्नु भनेको अपराधमा धकेल्नु र झनै गरिब बनाउनु हो,’ कार्कीले भने । तर, यौनजन्य दुव्र्यवहार भए प्रहरीले कारबाही गर्ने उनले बताए।

विकल्प दिए पेसा परिवर्तन
आमसञ्चार पढदै गरेकी खडका अब यो छाडेर अर्कै पेसा अपनाउने सुरमा छिन्। समाजले थाहा पाए बदनाम हुने डरले उनले पेसा परिवर्तनको तयारी गरेकी हुन्। उनीजस्तै यस क्षेत्रमा संलग्नले अर्को पेसा रोज्न सहज नभएको उनीहरूको गुनासो छ । केही संघसंस्थाको पहलमा सीपमूलक तालिम लिएर अर्को पेसा अपनाउनेको संख्या पनि बढदै छ। अधिकांशले ब्युटी पार्लर सञ्चालन गरिरहेको विश्वास नेपालकी अध्यक्ष भण्डारीले बताइन्।

अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल बालश्रम प्रतिवेदन २०१२ अनुसार नेपालका ५ देखि १७ वर्ष समूहका ४० प्रतिशत कुनै न कुनै श्रममा संलग्न छन्। १६ लाख बालबालिका औपचारिक र अनौपचारिक श्रम क्षेत्रमा संलग्न रहेको तथ्यांक छ।
साभार गरिएको : शिल्पा कर्ण / ई कान्तिपुर । प्रकाशित : पुस १९, २०७३

YOU MAY LIKE THESE POSTS
Loading...